यूएई । यूएईमा जारी यू–१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । यो हारसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त भएको छ । प्रतियोगितमा नेपालका लागि अर्जुन कुमालले ९१ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । अर्जुनले १०८ बलमा १३ चौकाको मद्दतमा ९१ रन बनाएका थिए ।
२६२ रनको लक्ष्य पछ्याएको नेपालका लागि कप्तान देव खनालले २४, गुल्सन झाले १७, दीपक बोहराले १५ र दिपेश कँडेलले ११ रन जोडेका थिए । नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८८ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले जमसिद जादरानको शतकीय पारीको मद्दतले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो । रिटायर्ट आउट हुन अघि जादरानले १ सय ५२ बलमा १ सय ६ रन बनाए । उनले आठ चौका प्रहार गरेका थिए ।
त्यस्तै, विकेटकिपर नुमान शाहले ६० रन तथा राहिमुल्लाह जुरमातीले ३५ रनको योगदान दिए । नेपालका लागि हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले २–२ विकेट लिएका थिए । यसअघि मंसिर २२ गते भएको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।
अब नेपालले समूह चरणको अन्तिम खेल मंसिर २६ गते भारतसँग खेल्नेछ । आईसीसी एकेडेमी ओभर–२ मा हुने यो खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । समूह ‘ए’ मा नेपालबाहेक बाँकी तीन वटै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् ।
समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस १ गते हुनेछ ।