Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २४ मंसिर । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान एक अधिकृतविरुद्ध आरोप पत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत माधव बस्नेतविरुद्ध आइतबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

राज्यका सुरक्षा निकायहरूमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकाले ती निकायहरूमा कार्यरत कर्मचारीहरूको शैक्षिक प्रमाणपत्र छानबिन गरी कारबाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाईस्कुल तहको नक्कली (झुट्टा) प्रमाणपत्र पेस गरेको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

बस्नेतले राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिई बढुवासमेत भई अनुसन्धान अधिकृत पदको ओहदा, लाभ र सुविधा प्राप्त गरेको देखिएकोले उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिमको कसुर भएको थपलियाको भनाइ छ।

बस्नेतलाई सोही ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *