विराटनगर, २२ मंसिर । पत्रकार प्रेम देवानमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने मोरङ धनपालथान गाउँपालिका–६ का ३७ वर्षीय रमेश राय रहेको मोरङ प्रहरीले जनाएको छ । राय आक्रमण गर्ने मुख्य व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई शुक्रबार दिउँसो मोरङको धनपालथानबाट पक्राउ हो । बिहीबार दिउँसो समाचार संकलन गर्न गएका देवानलाई विराटनगर महानगरपालिकामा बाहिर आक्रमण गरेका थिए । विराटनगर–७, सातघुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय सरकारको भूमिका कमजोर भएको भन्दै पीडित पक्षले गरेको आन्दोलनमा समाचार सङ्कलनका लागि उनी विराटनगर महानगरपालिका पुगेका थिए ।
आन्दोलन गर्दै आएका समूहमध्ये रायले पत्रकार देवानलाई आक्रमण गरेका थिए । आक्रमणबाट उनको बायाँ हातमा चोटपटक लागेको छ । देवानले मोरङ प्रहरीमा अभद्र व्यवहारको मुद्दामा रायसहित दुई जनाविरुद्ध उजुरी दिएका छन् । उजुरी परेकामध्ये राय पक्राउ परेका छन् ।
अर्का एक जनाको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका रायलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्ने मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले बताए । रायलाई प्रहरीले आइतबार म्याद थप गरी अनुसन्धान गर्ने तयारी गरेको छ ।