Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर २२ गते ।

स्वतन्त्र संघीय सांसद अमरेश सिंह दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिद बिक्री रोक्न माग गदै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

सांसद सिंहले मलेसियाली कम्पनी आजियटाले आफ्नो स्वामित्वमा रहेको एनसेलको सेयर गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनीलाई गरेको भनिएको बिक्री रोक्न माग गर्दै रिट दायर गरेका हुन् ।

आगामी आइतबार रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ ।

आजियाटाले रेनोल्ड होल्डिङ्स नामक कम्पनीको सबै शेयर बेलायतमा स्थापना भएको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो । शेयर खरिदबिक्रीको निर्णय सार्वजनिक भएलगत्तै विभिन्न तहबाट प्रश्न उठेको छ ।

पूँजीगत लाभकर छल्ने उद्देश्यले वास्तविक भन्दा कम मूल्यमा शेयर बिक्री गर्न खोजिएको सांसद सिंहले दाबी गरेका छन् । आजिएटाले टेलिकम क्षेत्रका व्यवसायी सतिशलाल आचार्यलाई ५० मिलियन अमेरिकी डलर (करिब ६ अर्ब ६५ करोड रुपैयाँ) मा शेयर बिक्रीको घोषणा गरेको थियो ।

‘आजियाटा र स्पेक्ट्रलाइट युके लिमिटेडबीच कारोबार अपारदर्शी छ किनभने एनसेलको अनुमतिपत्र रहुञ्जेलसम्म आजियाटाले एनसेलको आम्दानी लैजाने गरी शेयर खरिदबिक्रीको सम्झौता भएको छ’ रिट निवेदनमा सांसद सिंहले भनेका छन्, ‘कुनै पनि व्यापारको सम्झौता यस प्रकारको हुँदैन ।’

सन् २०१६ मा एक खर्ब ४३ अर्ब रुपैयाँमा आजियाटाले एनसेलको ८० प्रतिशत खेयर किनेको थियो । सात वर्षमा नै ठूलो रकम घटाएर शेयर खरिदबिक्री भएको भन्दै सांसद सिंहले प्रश्न उठाएका हुन् ।

एनसेलले वार्षिक करिब ४० अर्ब रुपैयाँ आम्दानी गरेको अवस्थामा कौडीको भाउमा शेयर बिक्री गरिनु गलत भएको उनको दावी छ । एनसेलले नेपालका तीन ठूला बैंकहरुबाट ४० अर्ब ऋण लिएको अवस्थामा ६ अर्बमा मात्रै कम्पनीको ८० प्रतिशत शेयर बिक्री हुन नसक्ने उनको दावी छ ।

उनले एनसेलको शेयर खरिदबिक्री गरी नामसारी गर्ने काम नगर्न नगराउन कम्पनी रजिष्ट्रारको कार्यालयका नाममा अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *