काठमाडौँ, २२ मंसिर । राज्य व्यवस्था तथा सुशासन समितिले प्रधामन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेलको सेयर खरिद बिक्री प्रकरणमा छलफल गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय भएको सभापति रामहरि खतिवडाले जानकारी दिएका हुन् ।
सांसद राजेन्द्र पाण्डेले एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई समितिमा बोलाएर सोधपुछ गनुपर्ने बताएका थिए । प्रशासनिक र राजनीतिक मिलेमतोबिना एनसेल काण्ड नहुने भएकाले प्रधानमन्त्रीसँग समितिले सोधपुछ गर्नुपर्ने उनको भनाइ थियो । यसैगरी सांसद गगन थापाले एनसेल प्रकरणको छानबिन गर्न सरकारले बनाएको समितिमाथि यो समितिले छानबिन गर्नुपर्ने बताए ।
एनसेल प्रकरणमा ठुलै भ्रष्टाचार भएको दाबी थापाको थियो । सांसद सर्वेन्द्रनाथ शुक्लाले एनसेल प्रकरणको छानबिन गम्भीर रूपमा हुनुपर्ने बताए । उक्त बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकबारे पनि प्रधानमन्त्रीसँग छलफल हुनेछ ।
यस्तै मंसिर २७ गते प्रधानसेनापतिलाई समितिमा बोलाउने पनि निर्णय भएको छ । उक्त बैठकमा प्रधानसेनापति प्रभुराम शर्मासँग फास्ट ट्रयाकबारे छलफल हुने खतिवडाको भनाइ छ । यस्तै नेपाली सेनाभित्रको नक्कली प्रमाणपत्रको बारेमा उपयुक्त समयमा रक्षामन्त्रीलाई बोलाएर छलफल गर्ने पनि समितिको भनाइ छ ।