बारा, २१ मंसिर । बाराको सिम्रौनगढका सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । लामो समयदेखि तलब सुविधा नपाएको भन्दै आन्दोलनरत शिक्षकहरूले नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन ठप्प गरिदिएका हुन् ।
शिक्षक तथा कर्मचारीहरूले ४ देखि १४ महिनासम्मको तलब पाएका छैनन् । सेवा सुविधाको माग गर्दै शिक्षक तथा कर्मचारी दुई महिनादेखि नगरपालिकाको मूलगेटमा धर्ना बस्दै आएका थिए । तर, नगरपालिकाले बेवास्ता गरेपछि बिहीबारबाट पठनपाठन नै बन्द गर्नुपरेको संघर्षरत शिक्षकहरूले जनाएका छन् ।
नेपाल शिक्षक संघ नगर कार्यसमितिका अध्यक्ष उमाशंकर यादवले स्थायी शिक्षकहरूले दसैँ भत्तासहित चालु आर्थिक वर्षको ४ महिनाको र करार, ज्यालादारी तथा नगर शिक्षकहरुले १४ महिनादेखि सेवा सुविधा नपाएको गुनासो गरे । शिक्षकहरूको आन्दोलनले विद्यालय बन्द हुँदा १५ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
सिम्रौनगढ नगरपालिकाभित्र ३२ वटा सामुदायिक विद्यालयमा बालविकास, अस्थायी करार, नगर शिक्षक, विद्यालय कर्मचारी र स्थायी शिक्षक गरी १९० जना कार्यरत छन् । तीमध्ये स्थायी शिक्षकले चालु आर्थिक वर्षको पहिलो चौमासिकको तलब, दसैँ पेश्की पाएका छैनन् भने अन्यको हकमा गत आर्थिक वर्षको १२ महिना र चालु आर्थिक वर्षको ४ महिनाको सेवा सुविधा बाँकी छ ।
चालु आर्थिक वर्षको पहिलो चौमासिक बितिसक्दा पनि नगरपालिकाको खाता सञ्चालनमा आएको छैन । नगरप्रमुख र वडाध्यक्षहरूबीचको आन्तरिक द्वन्द्वका कारण कानुनी रूपमा नगरसभा सम्पन्न भएको छैन । नगरपालिकाभित्रको आन्तरिक द्वन्द्वका कारण शिक्षक मात्रै होइन, कर्मचारी, नगर अस्पतालका स्वाथ्यकर्मीले समेत तलब सुविधा पाउन सकेका छैनन् ।