काठमाडौँ, २१ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित सन्दीप रायमाझीसहित ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने रायमाझीसहित ५ जना र साधारण तारेखमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् ।
धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन र रामशरण केसी पनि छन् । सन्दीप रायमाझी पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । शरणार्थी प्रकरणमा टोपबहादुर थुनामै छन् । उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो ।
धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालचाहिँ थुनामै छन् । रिजालले धरौटी बुझाएका छैनन् । उनलाई अदालतले १५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो । धरौटी रकम बुझाएका ५ जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अभियुक्तहरूसँग धरौटी लिएर छाड्ने निर्णय गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरूले रायमाझीसहित ५ जनालाई साधारण तारेखमा रिहा गर्ने निर्णय गरेका हुन् । यता, नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाइके मध्येका सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मालाई कारागार कार्यालय नख्खुमा सरुवा गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए ।