विराटनगर, २१ मंसिर । विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । हिजो १ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो भने १ जनाको आज बिहान काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो ।
काठमाडौँमा मृत्यु हुनेमा विराटनगर–६ की सुनिता कामत रहेकी छिन् । विराटनगर–६ का दुखा मण्डलले सञ्चालन गरेको कवाडी गोदाममा भएको आगलागीमा परी विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डल र विराटनगर ६ का ५५ वर्षीया सुशीला पासवानको मृत्यु भएको थियो ।
मण्डलको न्युरो अस्पतालमा र पासवानको घटनास्थलमै जलेर मृत्यु भएको हो । उक्त घटनामा परी अन्य ३ जना घाइते भएका छन् । उनीहरूको काठमाडौँमा उपचार भइरहेको छ ।