जनकपुरधाम, २० मंसिर । मधेश सरकारले केपी ओली कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा ऐतिहासिक जित हासिल गरेको मधेश प्रदेश टिमलाई प्रोत्साहनस्वरूप पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ । बुधबार मधेश भवनमा मधेश क्रिकेट टिमका खेलाडी एवं पदाधिकारीहरूलाई मुख्यमन्त्री सरोजकुमार यादवले सम्मान गर्दै यस्तो घोषणा गरेका हुन् ।

मुख्यमन्त्री यादवले प्रदेशका खेलाडीहरूलाई सुविधा दिएर हरेक जिल्लामा खेलकुदको सुदृढ पूर्वाधार खडा गरिने बताए । त्यस्तै, धनुषा जिल्ला क्रिकेट संघका उपाध्यक्ष आकाश पाण्डेले सम्मानबाट खेलाडीहरू उत्साहित भएको बताए । नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले खेलाडीले सारा देश र प्रदेशलाई खुशी दिने भएकाले खुशीको बाटो खोल्न र खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न मुख्यमन्त्री यादवसँग आग्रह गरेका थिए ।

यस अवसरमा मुख्यमन्त्री यादव, प्रदेशसभा सदस्य रामअशिष यादव एवं प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरेले खेलाडी, प्रशिक्षक एवं पदाधिकारीहरूलाई खादा ओढाएर सम्मान गरेका थिए ।

पोखरामा मंसिर १५ गते भएको फाइनलमा मधेश प्रदेशले राष्ट्रिय खेलाडीको बाहुल्य रहेको त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेको थियो ।