Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेतालाई पक्राउ गर्न पुर्जी जारी भएकोमा असन्तुष्टि जनाएका छन् । सिंहदरबारमा सोमबार वरिष्ठ सञ्चारकर्मीहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो असन्तुष्टि जनाएका हुन् ।

गत मंसिर १० गतेको आदेशअनुसार अदालतले विप्लवसहितका शीर्ष नेतालाई मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार पक्राउ पुर्जी जारी गरेको छ ।

छलफलमा उनले भने, ‘जे भयो गलत भयो । सरकारले विप्लवहरूसँग सम्झौता गरिसकेको छ । सहमति गरेर उनीहरू शान्ति प्रक्रियामा आइसकेका छन् । शान्तिपूर्ण राजनीतिमै भएको हुनाले उनीहरूलाई फेरि फर्काएर अप्ठ्यारो पार्न हुँदैन ।’

अदालतले विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश ओली, माइला लामा, राजु कार्की विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हाे ।

विप्लव समाजवादी मोर्चामा सहभागी छन् । २०७४ को निर्वाचनअघि राज्यविरुद्ध भूमिगत विद्रोह गरेको नेकपाले २०७६ साल फागुनमा सरकारसँग सम्झौता भएपछि शान्तिपूर्ण राजनीतिमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *