काठमाडौँ, १७ मंसिर । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सार्ने तयारी हुन थालेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय महाधिवेशन वैशाखमा सार्न प्रस्ताव गरेका हुन् । पार्टीका नेताहरूसँगको अनौपचारिक छलफलका क्रममा अध्यक्ष नेपालले वैशाखमा राष्ट्रिय महाधिवेशन गर्दा उपयुक्त हुने धारणा राखेका छन् ।
अनौपचारिक छलफलका क्रममा केही नेताले जेठ भनेका छन् भने केहीले असोजमा गर्न पनि प्रस्ताव गरेका छन् । सोमबारको सचिवालयमा यी सबै धारणामा छलफल गरेर नयाँ मिति तय हुने पार्टीले जनाएको छ । यसअघि सो पार्टीले माघ १४ देखि १८ गतेभित्र महाधिवेशन सम्पन्न गर्ने मिति तय गरेको थियो ।
सोमबार बस्ने पार्टीको केन्द्रीय सचिवालय बैठकले महाधिवेशन सर्ने नसर्ने निर्णय गर्ने उपमहासचिव तथा पार्टी प्रचार विभाग जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी गठनपछि पहिलो महाधिवेशन हुन लागेको भए पनि एकीकृत समाजवादीले एमालेबाट विद्रोह गरेर पार्टी पुनर्गठन गरेको भन्दै दशौँ महाधिवेशन भनेको छ ।