Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, १७ मंसिर । प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको मधेश छनोट खेलको तालिका सार्वजनिक गरिएको छ । मधेश प्रदेश क्रिकेट संघले आइतबार छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

दुई समूह बनाएर हुन लागेको प्रतियोगितामा प्रत्येक समूहमा तीन-तीन जिल्लालाई राखिएको छ । समूह ए मा सप्तरी, रौतहट र महोत्तरी छन् । त्यस्तै, समूह बी मा बारा, सर्लाही र सिरहा रहेका छन् । धनुषा र पर्साको टोलीले भने प्रतियोगितामा सहभागी जनाएका छैनन् ।

यी दुई जिल्लामा महिला क्रिकेट टोली बनाउने कार्य नै पूरा हुन नसकेको संघका सचिव आयुष श्रेष्ठले सामाजिक फिडलाई जानकारी दिएका छन् ।

समूह चरणको पहिलो खेल मंसिर २२ गते बिहान ९ बजे रौतहट र महोत्तरीबीच हुनेछ । त्यसैदिन दिउँसो १ बजे बारा र सर्लाही भिडन्त हुनेछ ।

त्यस्तै, मंसिर २३ गते बिहान ९ बजे सिरहा र सर्लाही तथा दिउँसो १ बजे सप्तरी र महोत्तरीबीच प्रतिस्पर्धा हुनेछ । मंसिर २४ गते बिहान ९ बजे सप्तरी र रौतहट तथा दिउँसो १ बजे सिरहा र बाराका टोलीबीचका खेलहरू हुने छन् ।

प्रतियोगिताअन्तर्गत मंसिर २५ गते सेमिफाइनल र मंसिर २६ गते फाइनल हुने संघले जनाएको छ । प्रतियोगिताका खेलहरू राैतहटको गाैरस्थित राइस मिलको मैदानमा हुने पनि संघले जनाएको छ । पुस १ देखि काठमाडौँमा हुने प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताका लागि खेलाडी छनोट गर्न मधेश प्रदेश क्रिकेट संघले छनोट खेल सञ्चालन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *