जनकपुरधाम, १७ मंसिर । मधेश प्रदेशमा लागूऔषधविरुद्धको अभियान सुरु भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार महोत्तरीको बर्दिबासमा लागूऔषधविरुद्धको अभियानको उद्घाटन गरेका हुन् । त्यसक्रममा उनले यो अभियानलाई सहयोग गर्न अभिभावकहरूसँग आग्रह पनि गरे ।
‘अभिभावकले आफ्नो सन्तानको निगरानी गर्नुपर्छ, उनले भने, ‘आफ्नो सन्तानको निगरानी गरेपछि लागूऔषध दुर्व्यसनी संख्या घटनेछ । छोरा घरबाट निस्किने र फर्किने समयको निगरानी गर्नुस् ।’
छोरा पक्राउ परेपछि छुटाउनमा लाग्नुभन्दा लागूऔषध सेवन नै नगर्ने गरी निगरानी गर्न मुख्यमन्त्री यादवले अभिभावकलाई आग्रह गरे । कार्यक्रममा गृह, संचार तथा कानुनमन्त्री मोहम्मद समिमले लागूऔषधले बुवाआमाको सपनामा पानी खन्याएको भन्दै यो अभियानमा सहयोगका लागि आग्रह गरे ।
उनले भने, ‘लागूऔषधले समाजमा विकृति बढाएको छ । प्रदेश सरकारको यो अभियानमा सबै पक्षको सहयोग आवश्यक छ ।’
मधेश प्रदेशका आठै जिल्लामा लागूऔषधको कुलतमा लागेका युवाहरूलाई मनोपरामर्श दिइनेलगायतको कार्यक्रमहरू गरिने मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले जानकारी दिए । कार्यक्रममा मधेश प्रदेशका पूर्वगृह तथा संचारमन्त्री एवम् प्रदेशसभा सदस्य भरतप्रसाद साह, प्रदेशसभा सदस्य शारदा थापा, बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीलगायतले धारणा राखेका थिए ।