भारत । भारतका चर्चित कमेडियन कपिल शर्मा र सुनिल ग्रोवर पुन: एक साथ देखिने भएका छन् । ६ वर्षअघि भएको झगडालाई बिर्सेर कपिल र सुनिल पुन: एक साथ नयाँ शोमा आउन लागेका हुन् ।
नेटफ्लिक्सको अपकमिङ शोमा दुवै जनासँगै देखिदैँछन् । नेटफ्लिक्सले यो खबरलाई औपचारिक रूपमा शेयर गरेको छ । एउटा भिडियोमा कपिलको साथमा सुनिल देखिएका छन् । भिडियोको शुरुआतमा दुवैले फरक अन्दाजमा नयाँ शोबारे जानकारी दिएका छन् । भिडिओमा अस्ट्रेलियाको जहाजमा भएको झगडाबारे पनि घुमौरो तरिकामा उनीहरूले कुराकानी गरेका छन् ।
कुराकानी गर्ने क्रममा हामी १९० भन्दा धेरै देशमा आउने वाला छौं भनेर कपिलले भनेका छन् । त्यसको उत्तरमा सुनिलले चाँहि हामी अस्ट्रेलिया जाँदैनौ भन्छन् । तर कपिलले होइन अस्ट्रेलिया त जाने हो, त्यहाँ मानिसहरू हामीलाई कुरिरहेका छन् भन्छन् । यो सुनेर सुनिलले हवाईजहाजबाट होइन, सडक भएर जाने भन्छन् । शोमा यी दुईको साथमा राजीव ठाकुर, किकु शारदा, अर्चना पूरन सिंह र कृष्णा अभिषेक पनि देखिदैंछन् ।
कपिल र सुनिलबीच ६ वर्षअघि अष्ट्रेलियाबाट फर्किने क्रममा फ्लाइटमा झगडा भएको थियो । ह्विस्कीको पूरै बोतल सिध्याएर बसेका कपिलले नशाको तालमा कपिल शर्मा शोका अन्य सदस्यहरूसँग दूर्व्यवहार गरेका थिए । सुनिलले सम्झाउन खोज्दा उल्टै उनलाई जुत्ताले हानेर तथानाम गाली गरेका थिए । कपिल शर्मा शो भनेर पूरै शोलाई कपिलको नाम दिइएको भएपनि सुनिल शोका महत्त्वपूर्ण हिस्सा थिए ।
सुनिलले निर्वाह गरेका गुत्थी, डाक्टर मशहुर गुलाटीजस्ता पात्रहरू निकै चर्चित र लोकप्रिय बनेका थिए । नयाँ शो ‘कपिल शर्मा शो’ भन्दा फरक हुने बताइएको छ। तर हालसम्म शोको नामबारे खुलासा गरिएको छैन ।