पोखरा, १५ मंसिर। त्रिभुवन आर्मी क्लबलाई हराउँदै मधेश प्रदेशले केपी ओली कप टी–२० प्रतियोगिताको उपाधि जितेको छ । मधेश प्रदेशले शुक्रबार पोखरा रंगशालामा भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा एक सय २४ रन मात्र बनाउन सक्यो ।
मधेशका लागि तल्लो क्रमका ब्याट्सम्यान विशाल पटेलले अविजित ४९ रनको योगदान गरे । उनले केवल ३२ बलको सामना गरी तीन छक्का र तीन चौका प्रहार गरेका थिए । त्यसअघि ओपनर ब्याट्सम्यान हरिशंकर साहले २७ रन बनाएका थिए । उनले २१ बलमा दुई छक्का र तीन चौका प्रहार गरेका थिए । माथिल्लो क्रमका ब्याट्सम्यानहरूको प्रदर्शन भने निराशाजनक रह्यो । माथिल्ला पाँच ब्याट्सम्यानमध्ये कप्तान हरिशंकरले मात्र दोहोरो अंकमा रन बनाउन सके ।
ओपनर अनिल साह ६, ईमरान शेख आठ, पवन सर्राफ नौ र मयान यादव तीन रनमै पेभेलियन फर्किएका थिए । ५५ रनको कुल स्कोरमा मधेश प्रदेशले पाँच विकेट गुमाइसकेको थियो । छैटौँ नम्बरमा क्रिज समाल्न आएका हिमांशु दत्तले टोलीले १४ रन थपे । विशाल सुशलिङले १० रन बनाए । रुपेश सिंह शून्य रनमै आउट भए भने प्रदीप पासवानले अविजित चार रन बनाए । मधेश प्रदेशले अतिरिक्त रूपमा पाँच रन पाएको थियो । आर्मी क्लबका बलर विवेक यादव र साहब आलमले तीन—तीन विकेट लिएका थिए ।
विवेकले चार ओभरमा ३० रन खर्चिएका थिए । साहब आलमले भने किफायति बलिङ गर्दै तीन ओभरमा केवल पाँच रन खर्चिएका थिए । बसिर अहमद र सोमपाल कामीले पनि एक—एक विकेट हात पारे । जवाफी ब्याटिङ गरेको आर्मी क्लबका लागि ओपनर ब्याट्सम्यान विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाए । विकेटकिपरको भूमिकामा समेत रहेका कप्तान भण्डारीले ३० बलमा पाँच चौका पनि हिर्काए । अर्का ओपनर सन्तोष कार्कीले १३ बलमा तीन चौकाको मद्दतले १६ रन जोडे ।
भीम सार्कीले टोलीको खातामा २२ रन थपे । पाँचौँ नम्बरका ब्याट्सम्यान भीमले २१ बलमा एक छक्का र दुई चौका पनि हिर्काए । सोमपाल कामीले १५ बलमा एक चौकाको मद्दतले अविजित १६ रन बटुले । विवेक यादव २५ रनमा अविजित रहे । उनले १४ बलमा दुई छक्का र दुई चौका हिर्काए । बलियो आर्मी क्लबलाई लक्ष्यसम्म पुग्न नदिन मधेश प्रदेशका हरिशंकर साह एक्लैले चार विकेट लिए । उनले चार ओभरमा केवल १९ रन खर्चिए । प्रदीप पासवानले पनि चार ओभरमा २६ रन खर्चिएर दुई विकेट हात पारे । प्रतिक यादवले एक विकेट लिएका थिए । यो मधेशले जितेको पहिलो राष्ट्रिय स्तरको प्रतियोगितासमेत हो ।