मकवानपुर, १४ मंसिर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । बिहीबार मकवानपुरगढी गाउँपालिका–२ धवाडी पुलनजिक मोटरसाइकल अनियन्त्रित भई करिब १२ मिटर तल खसेको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार वर्ष ३४ वर्षीया रुपा स्याङ्तान र ५ महिनाको शिशुको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी-२ कुर्ले पाखा बस्ने ३५ वर्षीय भीमबहादुर स्याङ्तान घाइते भएका छन् । स्याङ्तानको टाउकोमा चोट लागेको छ भने उनको हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ ।
मृत्यु भएकी रूपा मोटरसाइकल चालक स्याङ्तानकी श्रीमती हुन् भने ४ महिने शिशु छोरी हुन् । सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।