Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, १४ मंसिर । मधेश प्रदेश नेकपा एमालेका सांसद् दीपेन्द्र ठाकुरले प्रदेश सरकार र स्थानीय तहहरूप्रति जनताको वितृष्णा बढ्दै गरेको दाबी गरेका छन् । मधेश प्रदेशसभाको बुधबार बसेको दोश्रो अधिवेशनको पाँचौँ बैठकको विशेष समयमा एमाले ससंदीय दलका उपनेतासमेत रहेका ठाकुरले यस्तो बताएका हुन् ।

उनले प्रदेश सरकारले कुनै ठोस काम गर्न नसकेको पनि आरोप लगाए । सत्ताको पावर केही मान्छेको मुठ्ठीमा मात्र केन्द्रित हुँदा समस्या सृजना भएको उनको भनाइ छ । जनतालाई दिइएको आश्वासन मधेश सरकारले पूरा गर्न नकिरहेको पनि सांसद् ठाकुरले आरोप लगाए ।

स्थानीय तहहरूले समेत जनताका काम गर्न नसकेको उनको आरोप छ । आफूलाई भोट दिने व्यक्तिहरूको मात्र काम गरिदिने र अरुलाई ‘डोमिनेट’ गर्ने मनशाय स्थानीय तहका जनप्रतिनिधिहरूमा देखिएको सांसद् ठाकुरको भनाइ थियो ।

जनताको वितृष्णा बढ्न नदिनका लागि समयमै सचेत हुन पनि उनले प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरेका थिए । सांसद् ठाकुरले जनकपुरधाममा लामखुट्टे निर्मूल पार्न स्थानीय तहले केही गर्न नसकेको भन्दै प्रदेश सरकारले यसतर्फ ध्यान दिनुपर्ने पनि बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *