काठमाडौँ, १४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल कोप–२८ सम्मेलनमा भाग लिन दुबई पुगेका छन् । प्रधानमन्त्री दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् ।
स्थानीय समयानुसार राति करिब १ः३० बजे उनी दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । दुबई विमानस्थलमा प्रधानमन्त्री दाहाललाई नेपाली राजदूत तेजबहादुर क्षत्री र नेपालका निम्ति यूएईका राजदूत अब्दुल्ला एम साम्सीलगायत त्यहाँस्थित दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले आज यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासको अवलोकन र नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ ।