Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, ११ मंसिर । मिथिलाञ्चलमा मनाइने सामाचकेवा पर्व आज समापन गरिँदैछ । दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रूपमा रहेको सामाचकेवा पर्व समापन हुन लागेको हो ।

कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनादेखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाका दिन समापन गरिने परम्परा छ । माटो मुछेर बनाइएका चुगला, वृन्दावन, सप्तर्षिसहितका आकृति दाजुभाइले घुँडामा राखेर फुटाएपछि जोतेको खेतमा ती टुक्रा विसर्जन गर्दै दिदीबहिनीले सामाचकेवा पर्व समापन गर्छन् । पर्व मनाउन विवाहित कतिपय दिदीबहिनी माइत जान्छन् । कतिपयले भने आफ्नै घरमा दाजुभाइलाई बोलाउँछन् । अविवाहित दिदीबहिनीले भने दाजुभाइसँगै घरमा पर्व मनाउँछन् ।

पर्वमा सामा, चकेवा, चरा, वृन्दावनसहितका कथासँग जोडिने आकृतिका माटाका खेलौना बनाएर पर्वभरि रातमा दाजुभाइको सौर्य बखान गर्दै गीत गाइन्छ ।

किम्बदन्तीअनुसार भगवान कृष्णकी छोरीको नाम सामा थियो । एकपटक सामा बृन्दावनमा घुमघाम गर्न जाँदा उनकी नोकरानी डिहुलीले सामा ऋषिहरूसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन् । भगवान कृष्ण आवेशमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरूलाई चरा बन्ने श्राप दिए । सामाको भाइ साम्बले यो कुरा थाहा पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरेका थिए । तपस्याबाट खुसी भएर कृष्णले सामासहित सबै ऋषिहरूलाई श्रापबाट मुक्त गरे । यो पर्व मैथिलानी र थारु समुदायकी महिलाहरूले मनाउने गर्छन् ।

ग्रामीण क्षेत्रमा अझैँ पनि यो पर्वको लोकप्रियता कायमै छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रूपमा यो पर्वप्रतिको आकर्षणमा केही कमी आएको महसुस गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *