Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १० मंसिर । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रोल्पा गङ्गादेव गाउँपालिका–३ घर भई हाल काठमाडौँ गंगबुमा बस्ने ३९ वर्षीय निमराज डाँगी र पाल्पा रब्दिकोट नगरपालिका–४ स्थायी घर भई हाल काठमाडौँ वसुन्धरा बस्ने ३३ वर्षीय चक्र पोखरेललाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार डाँगीले पोर्चुगलमा जान प्रतिव्यक्ति १६ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित होटेलमा मासिक एक लाख २० हजार रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी पीडित जोनसन श्रेष्ठसँग पटक–पटक गरी दश लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

त्यस्तै, प्रहरीका अनुसार अर्का अभियुक्त पोखरेलले पीडित दीपेश तामाङलाई कुवेत जान दुई लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक ६० हजार रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारेका थिए । पटक–पटक गरी एक लाख रुपैयाँ रकम लिई उनी सम्पर्कविहीन भएको पीडितको भनाइ छ । थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *