सप्तरी, १० मंसिर । वेश्यावृत्ति गराएको आरोपमा सप्तरीको राजविराजस्थित एक लज सञ्चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेस्ट हाउसका सञ्चालक राजविराज नगरपालिका–६ बस्ने ५७ वर्षीय अरुणचन्द्र मिश्र र प्रबन्धक महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय राम प्रकाश मण्डललाई पक्राउ गरिएको हो । लजमा महिलाहरू राखेर वेश्यावृत्ति गराएको उनीहरूमाथि आरोप छ ।
महिलाहरूलाई प्रलोभन देखाएर जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको सप्तरीका एसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिएका छन् ।