काठमाडौँ, ९ मंसिर । पिकनिक खाएर फर्किँदै गरेकाहरू सवार बस उदयपुरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य ३७ जना घाइते भएका छन् ।
शनिबार उदयपुरगढी गाउँपालिका–७ अधेरी झर्नानजिकै दुर्घटना हुँदा बस चालक त्रियुगा नगरपालिका–५ का ४० वर्षीय भिखन चौधरी, त्रियुगा–६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकाश चौधरीको मृत्यु भएको हो ।
गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको छ २५ जना भने गाइघाटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । त्रियुगा नगरपालिका–५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलको प्र–०५–००१ ख ००४४ नम्बरको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
स्कुल बस चालकले गाउँको पिकनिकका लागि भाडामा लगेको खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।