काठमाडौं, ८ मंसिर । एक महिलाको जीवितै रहेका श्रीमानको मृत्यु दर्ता गराई एकल महिला भत्ता दिएको आरोपमा वडासचिवसहित दुई जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।
रामेछापको मन्थली नगरपालिका वडा–३ का तत्कालीन वडासचिव शिवकुमार महतोले निर्मला खत्रीसँगको मिलेमतोमा खत्रीको जीवित श्रीमानको मृत्यु भएको भनी बदनीयतपूर्वक एकल महिलाको सामाजिक सुरक्षा भत्ताको परिचय पत्र बनाएको आरोप छ ।
गलत लिखत तयार पारी नेपाल सरकारलाई ४५ हजार २२० रुपियाँ हानिनोक्सानी पुर्याएको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुलउपर हुन माग दाबी लिई शुक्रबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको अख्तियारले जनाएको छ ।