काठमाडाैँ, ७ मंसिर । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’ समर्थकबीच झडप भएको छ । बिहीबार दिउँसाे झडप भएपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरेको छ । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।
केही सामान्य घाइते हुनुका साथै केहीलाई भने अस्पताल पठाइएको प्रदर्शनकारीहरूले बताएका छन् । प्रसाईंलाई प्रदर्शन गर्नका लागि बल्खु तोकिए पनि उनीहरू कालिमाटीतर्फ लाग्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो । प्रहरीले रोकेपछि झडप सुरु भएको थियो ।
प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरासमेत प्रहार गरेको छ । प्रदर्शनकारीलाई प्रहरीले बल्खुमा नै रोकेको छ । कालिमाटीतर्फ अघि बढेको आन्दोलनकारीको गाडीको साँचो पनि प्रहरीले खोसेको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् ।