काठमाडौँ, ७ मंसिर । काठमाडाैँको बल्खुमा राष्ट्रिय युवा संघ र दुर्गा प्रसाईँका समर्थकबीच झडप भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने जाँदै गरेका युवा संघका कार्यकर्ता बल्खु पुगेपछि दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो । झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ ।
ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । त्यही बेला युवासंघको र्याली बल्खुमा पुगेको थियो । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।
बल्खु चोकमा प्रसाईंका समर्थकहरूले पार्किङ गरेर राखिएको मोटरसाइकलहरू लडाएका छन् । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् । युवा संघको नेतृत्वमा काठमाडौंको तीनकुनेमा प्रदर्शन हुँदैछ भने दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको बल्खुमा प्रदर्शन हुँदैछ ।