काठमाडाैँ, ६ मंसिर । राष्ट्रिय मानवअधिकार आयोगले भोलि काठमाडौँमा हुन लागेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ । साथै शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा राजधानीमा छुट्टाछुट्टै प्रदर्शन हुने भएपछि आयोगले यस्तो आग्रह गरेको हो ।
प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि हुन सक्ने भन्दै सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमहरूमार्फत सार्वजनिक भएका सूचना तथा सामाचारहरूप्रति राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाइएको छ । आयोगले मानव अधिकारको दृटिकोणबाट प्रदर्शनको अनुगमन गर्ने पनि स्पष्ट गरेको छ ।
लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाइने संवैधानिक अधिकार भएपनि प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु र संयमता अपनाउनु प्रदर्शनकारीहरूकै प्राथमिक दायित्व हुने आयोगले स्मरण गराएको छ ।
