काठमाडौँ, ६ मंसिर । केही दिनअघि मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।
घाइतेमध्ये एक जनाको उपचारका क्रममा मंगलबार मृत्यु भएको कीर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर डा.शंकरमान राईले बताएका छन् । २४ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर भएकाले आइसीयूमा राखेर उपचार भइरहेको छ । बाँकीको प्लास्टिक सर्जरी वार्ड र जनरल वार्डमा उपचार भइरहेको छ ।
गम्भीर घाइते भएका बिरामीका लागि विदेशबाट आएका डाक्टर र अस्पतालका विशेषज्ञ टोलीले उपचार गरिरहेको उनले बताए । उर्लाबारी ७ बरगाछीस्थित दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति आगलागी हुँदा चार प्रहरीसहित २८ जना जलेर घाइते भएका थिए ।