काठमाडौँ, २९ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल माघ ४ गते युगान्डाको भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री दाहालले असंलग्न आन्दोलनको १९ औँ शिखर बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डाको राजधानी कम्पाला जान लागेका हुन् ।
प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल तथा नेपाल सरकारका वरिष्ठ अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । शिखर सम्मेलनअन्तर्गत प्रधानमन्त्री दाहालले माघ ५ गते साझा वैश्विक समृद्धिका लागि सहयोग विस्तार विषयक प्रारम्भिक वैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
विभिन्न देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको सम्मानमा सोही दिन गणतन्त्र युगाण्डाका राष्ट्रपति योएरी कगुटा मुसेभेनीले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल पनि सहभागी हुनेछन् । शिखर सम्मेलन प्रारम्भ हुनुअघि आगामी माघ ३ र ४ गते परराष्ट्रमन्त्रीस्तरीय बैठक हुनेछ । परराष्ट्रमन्त्रीस्तरीय बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री साउद माघ २ गते कम्पालतर्फ प्रस्थान गर्ने छन् ।